डा. स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री

प्रारम्भिक जीवन

 
 

डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री, नेपाल सरकार
 
डा. स्वर्णिम वाग्ले नेपालका अर्थमन्त्री हुन्। उनी मार्च २०२६ मा तनहुँ–१ निर्वाचन क्षेत्रबाट लगातार दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित भएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति पनि हुन्, जसले पछिल्लो आम निर्वाचनमा नेपालको संसदीय इतिहासकै सबैभन्दा ठूलो विजय हासिल गरेको थियो।
डा. वाग्ले न्यूयोर्कस्थित संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को एशिया तथा प्रशान्त क्षेत्रीय ब्युरो (RBAP) मा प्रमुख आर्थिक सल्लाहकार (Chief Economic Advisor) रहिसकेका छन्, जहाँ उनले ३६ देशहरूको कार्यक्षेत्र सम्हालेका थिए। उनी २५ वर्षभन्दा बढी अनुभव भएका अन्तर्राष्ट्रिय विकास व्यवसायी (international development professional) हुन्। यस अवधिमा उनले वाशिङ्टन डी.सी.स्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री (Senior Economist) का रूपमा पनि कार्य गरेका थिए।
सन् २०१४ देखि २०१८ सम्म उनले नेपाल सरकारको राष्ट्रिय योजना आयोग (NPC) मा तीन वर्षको अन्तरालिक अवधिमा सेवा दिएका थिए, जहाँ उनले सुरुमा सदस्य र पछि उपाध्यक्षको जिम्मेवारी सम्हाले। सन् २०१५ को विनाशकारी नेपाल भूकम्पपछि उनले विपद्पछिको आवश्यकता मूल्याङ्कन (Post Disaster Needs Assessment–PDNA) को सह-नेतृत्व गरेका थिए तथा पुनर्निर्माणका लागि ४ अर्ब अमेरिकी डलरको प्रतिबद्धता जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सन् २०१९ देखि २०२६ सम्म डा. वाग्लेले दक्षिण एशियाली नीतिगत थिंक–ट्याङ्क, इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीज (IIDS) को नेतृत्व गरेका थिए, जसका उनी हाल अध्यक्ष इमेरिटस (Chairman Emeritus) हुन्। उनी काठमाडौं विश्वविद्यालयका पूर्व सिनेट सदस्य, विश्व बैंकको दक्षिण एशिया क्षेत्रीय च्याम्पियन्स समूहका प्रतिष्ठित सदस्य तथा एशियाली विकास बैंक (ADB, मनिला) र अन्तर्राष्ट्रिय व्यापार केन्द्र (ITC, जेनेभा) जस्ता संस्थाहरूका परामर्शदाता पनि रहिसकेका छन्। उनका थुप्रै लेख तथा प्रकाशन प्रकाशित भएका छन्। उनले "The Great Upheaval" (क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २०२२) को सह-सम्पादन गरेका छन्, विश्वव्यापी "Human Development Report 2013: The Rise of the South" का सह-लेखक हुन् तथा "Harvard Asia Quarterly" (२०००) का दक्षिण एशिया सम्पादक पनि रहिसकेका छन्।
डा. स्वर्णिम वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD), हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन (MPA/ID) तथा लन्डन स्कूल अफ इकोनोमिक्सबाट बीएससी (अर्थशास्त्र) उपाधि हासिल गरेका छन्। उनको जन्म सन् १९७४ मा गोरखामा भएको हो।
                                                                                                                                             (Updated: April 2026)