परिचय

कार्यालय परिचय

नेपाल सरकारका जिल्लास्थित कार्यालयहरूलाई रकम निकासा गर्ने, आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउने तथा विनियोजन, राजश्व र धरौटीको एकीकृत वित्तीय विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने उद्देश्यले आय-व्यय सञ्चालन कार्यविधि नियमावली, २०३८ बमोजिम वि.सं. २०३८ साउन १ गतेदेखि महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिका रूपमा जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको स्थापना गरिएको हो। सोही क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय, मुगु वि.सं. २०३९ सालमा स्थापना भएको हो।

प्रारम्भमा चौमासिक निकासा, मासिक सोधभर्ना निकासा लगायतका प्रणालीमार्फत बजेट निकासाको कार्य हुँदै आएकोमा सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै सरकारको वित्तीय खर्च तथा नगद व्यवस्थापनलाई रियल टाइममा आधारित, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने तथा वित्तीय जोखिम न्यूनीकरण गर्ने उद्देश्यले वि.सं. २०६६ माघ १ गतेदेखि एकल खाता कोष प्रणाली (Treasury Single Account - TSA) लागू गरिएको हो। उक्त प्रणाली प्रारम्भमा कोष तथा लेखा नियन्त्रक कार्यालय, भक्तपुरबाट पाइलटिङका रूपमा कार्यान्वयन भई चरणबद्ध रूपमा देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूमा लागू गरिएको हो।

वित्तीय व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन महालेखा नियन्त्रक कार्यालयले आधुनिक सूचना प्रविधिमा आधारित विभिन्न प्रणालीहरू एकीकृत रूपमा देशभर लागू गर्दै आएको छ। जिल्लास्थित महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयले सरकारी कार्यालयहरूको बजेट निकासा, भुक्तानी, वित्तीय नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक समन्वय र सहयोग गर्दै आएको छ।

यस कार्यालयले जिल्लास्थित सरकारी कार्यालयहरूको वित्तीय नियन्त्रण, आन्तरिक लेखापरीक्षण, सुझावसहितको प्रतिवेदन जारी गर्ने तथा विनियोजन, राजश्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य कोषहरूको एकीकृत वित्तीय विवरण तयार गरी पेश गर्ने लगायत प्रचलित कानुनबमोजिम तोकिएका कार्यहरू सम्पादन गर्दै आएको छ।